लोकसेवा अनुभव : बच्चा पढाउँदै पढेँ

8 months  ago Naya Patrika No Comment

निजामती सेवालाई जीविकोपार्जन गर्न सकिने पेसामा होइन, मुलुक र आमनागरिकलाई गुन लगाउन सक्ने पेसा हो । जागिर खाँदै गर्दा पनि मानिसको सेवा र उद्धार गरी जीवनसमेत बचाउन सकिने क्षेत्र देखेकै कारण म निजामती सेवामा प्रवेश गरेकी हुँ ।

लोकसेवाको तयारी
सीमित सिट संख्याका लागि धेरै प्रतिस्पर्धीलाई उछिन्नुपर्ने हुँदा चाहेकै समयमा वा छोटो तयारीमा लोकसेवा आयोग पास नगर्न सकिन्छ । आयोगको तयारी विश्वविद्यालयको परीक्षाभन्दा पृथक हुन्छ । २०५९ सालमा मैले पहिलोपटक लोकसेवा आयोगको जाँच दिएकी थिएँ । बुबा, आमा र भाइहरूको साथ, सहयोगले पास गर्ने कुरामा भरोसा थियो । शाखा अधिकृत पदका लागि करिब २४ हजारजनाले जाँच दिएकोमा १२ सयजना प्रारम्भिक परीक्षामा पास भएका थियौँ ।

त्यतिखेर म डनबस्कोे स्कुलमा पार्टटाइम पढाउँथे । एफएम रेडियोमा पनि काम गर्थें । पढाउने काम छाडेर रेडियोमा काम गर्दै पढाइमा जुटेँ । मिहिनेत गरेर पढेँ, तर परिणााम विपरीत आयो । प्रारम्भिकको परिणाम निस्किँदा नै घरमा अन्तिम परिणाम निस्केको ठान्नुभएको रहेछ, लिखितमा ननिस्किदाँ घर जानै लाज लाग्यो मलाई । केही त गर्नुपर्छ भन्ने सोची म बुबासँग काठमाडौंमा घडेरी किन्न प्रस्ताव राख्न गुल्मी गएँ । स्वीकृति दिनुभयो । त्यसै वर्ष घडेरी लिई घर बनाउन लागियो । यता, लोकसेवाको परीक्षा चल्दै थियो । म घर बनाउने सामान जुटाउन व्यस्त ।

१० वर्षको उमेरदेखि डिग्री पढ्दासम्म डेरा गरी बस्दा दिक्क लागेको थियो । २०६१ सालमा आफ्नै घरमा बसेर पढ्न पाइने भयो, संसारै जितेजस्तो लाग्यो । लोकसेवाको जाँच नै दिइनँ । त्यो वर्ष बिहान कलेज पढाउने, दिउँसो लोकसेवा पढ्ने गर्न थालेँ । लोकसेवाको फारम भरेँ, तर पहिलेको परिणामसँग तर्सेर जाँचको अघिल्लो दिन पनि बिदा बसिनँ । बरु अध्यापनलाई बलियो वैकल्पिक पेसाका रूपमा लिएँ । आफ्नै घर र वैकल्पिक पेसा हुँदा आत्मविश्वासले जानेको कुरा लोकसेवाको परीक्षामा ढुक्कसाथ प्रस्तुत गर्न सकेँ । परीक्षामा पास नभए म बर्बाद हुन्छु भन्ने सोचियो भने उत्तर राम्रोसँग लेख्न सकिँदैन ।

परिणाम आइसकेको थिएन । घरमा निजामती सेवामा काम गर्ने व्यक्तिसँग विवाहको कुरा चल्यो । शिक्षित परिवार थियो, पढ्ने सर्त राखेरै बिहे गरेँ । बिहान कलेजबाट फर्केपछि दिउँसो शाखा अधिकृत तयारीलाई निरन्तरता दिन चाहन्थंँ । घरले बुहारीको भूमिका माग गथ्र्यो । तर, पढ्न नपाउँदा पेट पोलिरहन्थ्यो । श्रीमान्सहित परिवारका ३ जना दाजुभाइ निजामती सेवामै रहनुभएकाले मेरो मनोविज्ञानअनुसार घरमा पढ्ने वातावरण बन्दै थियो । म शाखाअधिकृत पदमा लिखित परीक्षामा पास भएको सूचना आयो । लिखित परीक्षाको परिणामपछि अन्तर्वार्ताको परिणामसम्मको अवधि प्रशव पीडाजस्तो रह्यो । अन्तर्वार्तामा पास हुँदा प्रशवपछिको सन्तानप्राप्तिले जस्तै खुसी दियो ।

जागिरको सन्दर्भ
तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा पदस्थापन भई करिब पाँच वर्ष काम गरेँ । सरकारले विदेशस्थित नियोगमा श्रम सहचारी राख्ने निर्णय गर्‍यो। चार दरबन्दीमध्ये एकजना महिला श्रम सहचारी पठाउनुपर्ने व्यवस्था थियो । संयोगवश पहिलो महिला श्रम सहचारीका रूपमा युएईमा मलाई पठाउने निर्णय भयो । दुई वर्षको दुधे बच्चा छोडेर १ वर्ष युएई बसँे । युएईस्थित नेपाली दूतावास एउटा फ्ल्याटमा भाडामा थियो, त्यसैमा म थपिएँ । दोस्रो वर्ष बच्चा र बुबाआमासमेतलाई युएई बोलाई सँगै बस्न थालेँ । उद्धारलगायत काममा दूतावासमा बेलुका ८–९ पनि बज्थ्यो । दुई वर्ष दुई महिनाको अवधिमा ७८ जना नेपाली चेलीलाई उद्धार गरी नेपाल पठाउँदाका संवाद, प्रयत्न र सम्बन्ध मेरो डायरीमा अहिले पनि सुरक्षित छन् ।

 

बिहेपछि लोकसेवाको तयारी
युएईबाट फर्केपछि शाखा अधिकृत भएको सातौँ वर्षमा उपसचिवको जाँच दिएँ । उपसचिव पास गर्नका लागि हरेक क्षेत्रलाई पहिचान गर्नु,चिर्नु, छिचोल्नु र विश्लेषण गर्नु जरुरी थियो । साथमा विद्यालय जाने उमेरको बच्चा र घरायसी कामकाजको जिम्मेवारी । मेरो पहिलो प्राथमिकता उपसचिव पास गर्नु थियो । श्रीमान् र देवरबाबुले उपसचिव पास गरिसक्नुभएकाले मेरो लक्ष्यमा उहाँहरूले सघाउने हुनुभयो । मेरी बहिनी सरु बिबिएस पढ्दै थिइन्, मसँगै बस्न थालिन् ।

उनले मैले कक्षा लिँदा वा समूह छलफलबाट ढिला घर फर्किंदा बच्चालाई मेरो अभाव महसुुस हुन नदिएकैले मैले निर्धक्क भई तयारी गर्न सकेँ । म बेलुका ढिलोसम्म बस्थेँ, बच्चालाई तेल मालिस गरीवरी रुममै सुताउँथे अनि सुत्न जाँदा बेडरुममा लिएर जान्थेँ । बच्चालाई ढोका थुनेर राखेरकहिल्यै पढिनँ । बच्चासँगै बसेर पढ्न मिल्ने टेबल किनेर ल्याएँ । पढाउँदै, पढ्दै गरेँ । अर्को वर्ष लिखितमा पास भए पनि अन्तर्वार्ता बिग्रियो । तयारीको तेस्रो वर्षमा तीनतिर नाम निस्कियो । पहिलो अन्तर्वार्तामै दोस्रो नम्बरमा प्रशासन सेवामा पास भएँ ।

ध्यान दिनुपर्ने कुरा
लोकसेवाको तयारी गर्दा एकै विषयलाई गहिर्‍याउने नभई सबै विषयको बाँझो मार्दैै जानुपर्छ । एक क्षेत्रको ज्ञान जति छ, अर्को क्षेत्रमा पनि त्यति नै ज्ञान लिन आवश्यक छ । ताकि पाठ्यक्रमलाई न्याय गर्न सकियोस् । पाठ्यक्रमका सवै विषयको ऐतिहासिक र सैद्धान्तिक अवधारण वुझ्नु आवश्यक छ ।

हामीले नयाँ पत्रिकाबाट साभार गरेको यो सामाग्री पार्वती अर्यालको अनुभव हो ।

Do you like this article?