लोक सेवाले पोखरामा लिएको अहेबको अन्तरवार्ता पुनः लिने

10 months  ago News 24 No Comment

पास गराइदिन्छु भन्दै घुस लिएको सप्रमाण समाचार न्यूज २४ बाट प्रसारण भएपछि लोक सेवा आयोगले गत मंसिर ९ गते आयोगको पोखरा कार्यालयबाट लिइएको अहेब पदको अन्तरवार्ता रद्द गरेको छ ।

स्वयं अन्तर्वार्तामा सहभागी स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका प्रमुख डा. तारानाथ पौडेल अन्तर्वातामा सहभागीसँग १ लाख घुस लिदा लिदै पक्राउ परेको दृश्य र यससम्बन्धि रिपोर्ट न्यूज २४ को सीधाकुरा जनतासँंग कार्यक्रममा प्रसारण भएको थियो । पास गराइदिन्छु भन्दै घुस लिने पौडेल स्वास्थ्य मन्त्रालयका ११ औं तहका कर्मचारी हुन् ।

उनलाई अख्तियारको पोखरास्थित क्षेत्रीय कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको थियो । अन्तर्वातामा सहभागी स्याङ्जाका ज्ञानप्रसाद न्यौपानेसंग पौडेलले पास गराइदिने शर्तमा १ लाख घुस मागेका थिए ।

घुस लिएको सप्रमाण समाचार प्रसारण भएपछि लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले लोकसेवाको मर्यादा र स्वच्छता कायम राख्न कदम चालिने प्रतिक्रिया न्यूज २४ लाई दिएका थिए । न्यूज २४ संग गरेको प्रतिबद्धता लगत्तै आयोगले अन्तर्वार्ता रद्द भएको एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

घुससहित पक्राउ परेका पौडेलमाथि अहिले अनुसन्धान भइरहेको छ र उनी अनुसन्धानको क्रममा अख्तियारको हिरासतमा छन् ।
अन्तर्वार्ताको नयाँ मिति चाँडै तोकिने र अलग्गै समिति निर्माण गरी पुनः अन्तर्वाता लिइने लोकसेवा आयोगले जनाएको छ । मंसिर ९ गते लिइएको अन्तर्वार्तामाथि अख्तियारले छानविन गरिरहेकोले सबै परीक्षार्थीको मूल्यांकन फारमलाई सुरक्षित राखिएको पनि आयोगले जनाएको छ ।

Do you like this article?