लोकसेवा अनुभव : स्कुल पढाउँदै परीक्षाकाे तयारी गरेँ

5 months  ago Naya Patrika No Comment

अर्घाखाँचीको पोखराथोकमा जन्मिएँ । हरिहर उच्च माविसम्म त्यही पढेँ । कक्षा १२ सम्म सधैँ प्रथम हुन्थेँ । कक्षा ६ पढ्दादेखि आफूभन्दा तल्लो कक्षाका विद्यार्थीलाई ट्युसन पढाउँथे । कक्षा ११–१२ पढ्दै गर्दा घरको आँगनमा विद्यार्थी पढ्न भरिभराउ हुन्थे । मसँगै पढ्ने विद्यार्थी पनि ट्युसन पढ्न आउँथे । अरूलाई पढाउँदा आत्मविश्वास बढ्थ्यो । पढाइमा निखार ल्यायो । प्राप्त पैसाले घरको कमजोर आर्थिक अवस्था सुधार गर्न सहयोग भयो । परिवार र नजिकको चिनजानमा लोकसेवाबाट जागिर कसैले नखाएकोले लोकसेवा बुझेकै थिइनँ ।

 यसरी भएँ लोकसेवाप्रति आकर्षित
स्नातक पढ्न भैरहवा बहुमुखी क्याम्पस भर्ना भएँ । भान्दाइकोमा बसेर अंग्रेजी र समाजशास्त्र पढ्दै थिएँ । दिउँसोको समय स्कुल पढाउँथेँ । भान्दाइ घनश्याम पौडेल उहाँका छोरा अशोक पौडेल र ज्वाइँ युवराज ज्ञवालीले लोकसेवा पढ्न प्रेरित गर्नुहुन्थ्यो । लोकसेवामा भनसुन होला वा निकाल्न सकिँदैन होला भन्ने लाग्थ्यो । उहाँहरूको कुराले लोकसेवाप्रति मलाई आकर्षित ग-यो ।

 स्कुल पढाउँदै लोकसेवा तयारी
स्नातकोत्तर अध्ययनका लागि काठमाडौं आएँ । त्रिवि कीर्तिपुरमा अंग्रेजी विषय पढ्न भर्ना भएँ । काठमाडौंमा बस्न, पढाइ खर्चका लागि काम गर्नुको विकल्प थिएन । त्रिविको पढाइ दिउँसो भएकाले काम गर्ने समय मिलेन । बीचमै छोडेर बिहानी कक्षा हुने रत्नराज्यलक्ष्मी क्याम्पसमा अंग्रेजी र रात्रि कक्षा हुने एमपिए जमलमा भर्ना भएँ । दिनमा स्कुलमा पढाउने काम पनि अघि बढाएँ । स्नातकोत्तर सकिएलगत्तै दैनिक फरक स्कुलमा १४ पिरियडसम्म पढाउँथेँ । शाखा अधिकृतको फाराम भरेँ । प्रारम्भिक चरण पास भएँ । दोस्रो चरणको लागि पिरियड नौ वटामा सीमित गरेँ । एक महिना बेलुका डेढ घन्टा लोकसेवा तयारी कक्षा लिएँ । त्यसले मलाई लोकसेवा अध्ययनमा निरन्तरता दिलायो, प्रतिस्पर्धी चिनायो, छलफल गर्ने साथी र अवसर मिल्यो ।

 मेरो पढ्ने शैली
पढाउने कोर्सका मिल्ने र सन्दर्भ जोडिने विषयवस्तुलाई लोकसेवाको कोर्सको सम्बन्धित शीर्षकसँग जोड्दै आन्तरिकीकरण गर्थें । जीवनमा भोगेका ज्ञान लोकसेवा पाठ्यक्रममा कहाँ मिल्न सक्छ, ध्यान दिन्थेँ । मिल्नेलाई उदाहरणका रूपमा लेख्दा प्रभावकारी हुँदो रहेछ । लोकसेवाका लागि विषयविज्ञका लेख र एमपिएसम्बन्धी किताबलाई मूल आधार बनाएँ । तेस्रो पत्र त स्कुलमा पढाएका ज्ञान, एमपिए पढ्दाको अनुभवका आधारमा मात्र पास गरेँ ।

सार्वजनिक बिदाहरूको पूर्णउपयोग गरेँ । तर जीवन जिउने आधारको रूपमा रहेको पढाउने पेसा भने लोकसेवा तयारीको लागि भनेर कहिल्यै छाडिनँ । जसले गर्दा मलाई लोकसेवा पासै गर्नुपर्ने तनाव भएन । नौवटासम्म पिरियड पढाउँदै गरेको तयारीले २०६९ सालमा खुलातर्फ तेस्रो स्थानमा शाखा अधिकृत बन्न सफल भएँ ।

उपसचिव पास हुँदा छुट्टै अनुभव 
छात्रवृत्तिमा जापान अध्ययन गर्दै थिएँ । उपसचिवको विज्ञापन भयो । अनलाइन फारम भरेँ । जापानको पढाइशैली एजेन्डागत छलफल, प्रस्तुतीकरण र अनुसन्धानमा केन्द्रित हुन्थ्यो । विभिन्न मुलुकका पाहुना प्रशिक्षकको प्रस्तुतीकरण हुन्थ्यो । फरक मुलुकका असल अभ्यासहरू साथै चुनौतीहरूको चिरफार हुन्थ्यो । उठेका प्रत्येक सवाललाई म हाम्रो सार्वजनिक प्रशासनसँग जोडेर मस्तिष्क मन्थन गर्थें ।

म प्रायः नेपालको सार्वजनिक प्रशासनसम्बन्धी सवालमा प्रस्तुति दिन्थेँ । मेरो प्रस्तुतिमा सहभागी र प्रोफेसरहरूले गर्ने टिप्पणी र सुझाबका आधारमा परिमार्जन र विश्वअनुभव जोडेर थप भरिलो बनाउथेँ । अन्य देशका सहभागीले सार्वजनिक प्रशासनका बारेमा दिने प्रस्तुतिलाई पनि नोट गर्थें । त्यस्तो अभ्यासले उपसचिव तयारीका लागि सहयोग पुग्यो । अध्ययनकै क्रममा जापानका केही मन्त्रालय, स्थानीय कार्यालयहरूको अवलोकन गरेको थिएँ । त्यहाँ मन छोएका विषयलाई उपसचिवको कोर्स र नेपालको परिवेशसँग जोडेर हेर्थें ।

हाम्रो पद्धतिलाई यो मोडालिटी फिट होला भन्ने कुरा आन्तरिकीकरण गर्थें । जापानमा सिकेको कुरा नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कोणबाट सोचिरहन्थेँ । जापानको अध्ययन र सिकाइलाई सकेसम्म ग्रहण गरेँ । नेपालमा सेवारत रहँदा पनि कार्यशैली र व्यवहारलाई सूक्ष्म विश्लेषण गर्थेंं । त्यसरी पढेको र सिकेको ज्ञानकै कारण उपसचिवको नतिजामा खुलातर्फ दोस्रो स्थानमै सिफारिस भएँ । तीन वर्षअघि शिक्षण पेसाको अनुभव जोडेर खुला प्रतिस्पर्धाबाट उपसचिवको लिखितमा उत्तीर्ण भए पनि अन्र्तवार्तामा सफल हुन सकेको थिइनँ ।

यो सामाग्रीलाई नयाँ पत्रिकाबाट साभार गरीएको हो ।

नियमित रुपमा ताजा शैक्षिक समाचार प्राप्त गर्न हाम्रो “मोबाइल एप” डाउनलोड गर्नुहोस् ।

Do you like this article?

Leave a Reply

avatar