न्याय सेवामा अधिकृत पाउनै मुस्किल

9 months  ago Setopati 1  Comment

लोकसेवा आयोगले कुनै पदका लागि १ जनाको आवेदन माग्ने हो भने सयौंले निवेदन दिन्छन्। सरकारी जागिरमा आकर्षण बढ्दो भएपनि न्यायसेवाले भने चाहिएजति कर्मचारी पाउन सकेको छैन। सर्वोच्च अदालतका रजिष्ट्रार लालबहादुर कुँवरका अनुसार, धेरै वर्षयता न्यायसेवामा चाहिएका जति अधिकृतको पदपूर्ति गर्न हम्मे छ।

‘अहिले पनि अदालतमा शाखा अधिकृतका २ सय ६३ पद रिक्त छन्। यो वर्ष हामीले८६ पदका लागि आवेदन खोलेकोमा जम्मा ६१ जनामात्र लोकसेवा पास भए,’ उनले भने,‘जहिले पनि हामीलाई कर्मचारी पाउनै हम्मे पर्छ।’

पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा पनि न्यायसेवाले कर्मचारी पाउन नसकेको पुष्टि हुन्छ। २०६९ मा न्यायसेवाका लागि ३९ अधिकृत चाहिएको थियो। न्यायसेवाका लागि लोकसेवामा आवेदन भर्ने जम्मा १ सय २१ जना थिए। तीमध्ये ३६ जना पास भए। बाँकी ३ पद खाली भए।

०७० मा त चाहिएको संख्याभन्दा परीक्षा दिने नै कम थिए। १०६ अधिकृतको माग थियो परीक्षा दिने जम्मा ८७ जना। पास हुने ५३ मात्रै भए। मागभन्दा परीक्षा दिनेहरू थोरै आउने अवस्था ७३ सालसम्मै कायम रह्यो। ०७४ साल र ०७५ सालमा न्यायसेवाका लागि जाँच दिनेको संख्यामा वृद्धि भएको छ। तर चाहिएको जति पास भने हुन्नन।

यो वर्ष ८७ जना अधिकृतको विज्ञापन गर्दा १४७ जनाले आवेदन दिए। ६१ जना पास भए। कानुन पास गर्नेहरूले न्यायसेवा जान नरूचाएकाले यस्तो अवस्था आएको रजिष्ट्रार कुँवरले बताए। वकालतको लाइसेन्स दिनेको संख्या हेर्दा उनको कुरा पुष्टि हुन्छ। अधिवक्ताको लाइसेन्सका लागि चाहिने योग्यता पनि शाखा अधिकृतको परीक्षा दिनजस्तै कानुन विषयमा स्नातक गरेको हुनुपर्छ।

०७० सालमा अधिवक्ताको लाइसेन्सका लागि आवेदन दिने ८ सय १४ थिए। जबकी न्यायसेवाको शाखा अधिकृतका लागि आवेदन दिने ८७ जना थिए। ०७४ मा आइपुग्दा लाइसेन्सको लागि आवेदन दिनेको संख्या १५ सय पुग्यो। शाखा अधिकृतका लागि परीक्षा दिने भने १ सय ५० पनि पुग्न सकेनन्। ०७४ सालमा १ सय ३१ र ०७५ मा १ सय ४७ जना अधिकृतका लागि आवदेन दिन आए। न्यायसेवामा काम धेरै सुविधा थोरै भएकाले पनि आकर्षण नभएको रजिष्ट्रार कुवँरको बुझाइ छ।

काम धेरै सुविधा कममात्रै होइन न्यायसेवामा छिरेपछि वर्षौंसम्म वृत्ति विकास पनि अनुमानयोग्य नभएको धेरैले बताउँछन्। शाखा अधिकृतबाट न्यायसेवामा छिरेको व्यक्ति जिल्ला न्यायाधीश, उच्च अदालतको न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशसम्म बन्न सक्छ। उपसचिव, सहसचिव, रजिष्ट्रार र मुख्य रजिष्ट्रारसम्म पनि बन्न सक्छ।

मुख्य रजिष्ट्रार उच्च अदालतको मुख्यन्यायाधीशसरहको पद हो। तर न्यायसेवामा काम गरिरहेको व्यक्तिले आफ्नो वृत्ति विकास यति वर्षमा यस्तो हुन्छ भन्ने अनुमानसम्म गर्न सक्दैन। वृत्ति विकास नै कुनै पनि पेशाको आकर्षणको मुख्य कारण हुने गर्छ। न्यायसेवामा भने योग्य वृत्ति विकास अनुमान योग्य नभएकाले आकर्षण घटेको न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बताए।

‘शाखा अधिकृत भएर कलिलो उमेरमा छिरेको मान्छे ४० वर्ष हुँदासम्म न्यायसेवाको उपसचिव बन्न गाह्रो छ। तथ्यांकले पनि त्यही देखाउँछ,’ उनले भने, ‘न्यायसेवामा काम गरेर वृत्ति विकास हुन्न भन्ने धेरैलाई परेको छ। त्यसैले पनि यो क्षेत्रमा आकर्षण नभएको हो।’

Do you like this article?