कर्मचारी समायोजन प्रक्रियाका कारण लोकसेवाको कार्यतालिका बिथोलियो

8 months  ago Ekantipur No Comment

असोज अन्तिममा खोलिने विज्ञापन सरकारकै आग्रहमा दुई महिना पर सारेको लोकसेवाले अझै कहिले नयाँ विज्ञापन खोल्न पाउने हो ठेगान छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम नसकेसम्म नयाँ कर्मचारीको आवश्यकता कति भन्ने एकिन गर्न नसक्ने बताएको छ ।

कुन तहमा कति कर्मचारी आवश्यक पर्ने भन्ने नै एकीन नभएकाले नयाँ आवश्यकतासम्बन्धी विवरण आयोगलाइ पठाउन नसकेको मन्त्रालयको तर्क छ । प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन नगरी नयाँ विज्ञापन खोल्दा संवैधानिक र कानुनी जटिलता समेत रहेको सरकारी पक्षको भनाइ  छ ।

यसअघि हत्पत्ति कार्यतालिका परिवर्तन नगरेको आयोगले  सरकारले विशेष अनुरोध गरेका कारण दुई महिना पछाडि सारिदिएको बताउँदै आएको थियो । तर अहिले भने सरकारले आफूहरुसँग कुनै परामर्श पनि नगरेको र मागपत्र पनि नपठाएकाले यो वर्ष नयाँ कर्मचारी भर्नाको विषय लगभग टरेको आयोगको निष्कर्ष छ ।

हुन पनि सरकारले समायोजनका लागि माघ १ गतेसम्म कर्मचारीलाई आवेदन दिने मिति नै तोकेको छ ।  त्यसपछि सरासर काम अघि बढे पनि प्रक्रिया टुंगिन दुई देखि तीन महिना लाग्नेछ । त्यसपछि व्यावहारिक कारणले नै आयोगलाइ नयाँ भर्ना खोल्न कठिन हुनेछ । यसको प्रत्यक्ष असर भने लोकसेवा परीक्षाको तयारी गरिरहेका करिब सात लाख युवालाई पर्नेछ ।

कान्तिपुर टेलिभिजनले तयार पारेको तलको भिडियो रिपोट हेर्नुहोस् !

 

  • भिडियो सहित यो सामाग्री कान्तिपुर टेलिभिजनबाट साभार गरीएको हो ।
Do you like this article?