प्रदेश २ ले लोकसेवालाई भन्यो ‘कर्मचारी भर्ना नखुलाऊ’

5 months  ago Ekantipur No Comment

प्रदेश २ सरकारले प्रदेशभिक्र रित्त दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोगलाई पत्र लेखेर प्रदेश २ को प्रदेशस्तर र १ सय ३६ स्थानीय तहको हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न आग्रह गरेका हुन् ।

कर्मचारी समायोजनपछि तीनवटै तहमा अझै ३७ हजार कर्मचारी अपुग छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सबै स्थानीय तहलाई पदपूर्तिका लागि माग फाराम पठाउन पक्राचार गरेको थियो । स्थानीय तहमा रित्त पदमा यथाशीघ्र पूर्ति गर्नुपर्ने भएकाले प्रदेश लोकसेवा आयोग गठन नभएसम्म रिक्त पदहरूमा केन्द्रीय लोकसेवा आयोगमार्फत विज्ञापन गरिने पत्रमा उल्लेख थियो ।

रिक्त दरबन्दीमा संघीय सरकारले केन्द्रीय लोकसेवा आयोगमार्फत पदपूर्तिको सुरसार गरेपछि प्रदेश २ ले आपत्ति जनाउँदै उक्त अधिकार प्रदेश सरकारसँग रहेको उल्लेख गरेको हो । मुख्यमन्त्री राउतले प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक अन्तिम चरणमा रहेको र त्यसलगत्तै प्रदेश लोकसेवा आयोग गठन गर्ने तयारीमा प्रदेश सरकार रहेको पत्रमा उल्लेख गरेका छन् । उनले संविधानको विभिन्न धारालाई उद्धृत गर्दै प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाको अधिकार प्रदेश कानुनअनुसार हुने व्यवस्थातर्फ आयोगको ध्यानाकर्षण गराएका छन् । संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिका कर्मचारी र कार्यालयसम्बन्धी अन्य व्यवस्था प्रदेश कानुनबमोजिम हुने व्यवस्था छ ।

त्यस्तै, धारा २८५(३) मा प्रदेश मन्त्रिपरिषद्, गाउँपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकताअनुसार कानुनबमोजिम विभिन्न सरकारी सेवा गठन र सञ्चालन गर्न सक्ने उल्लेख छ । पत्रमा संविधानको उक्त दुईवटै धाराको प्रावधान उल्लेख गरिएको छ । सरकारले हालै १ लाख ३१ जना कर्मचारीको तीनवटै तहमा समायोजन गरेको छ । स्वीकृत दरबन्दीअनुसार तीनवटै तहका लागि अझै ३७ हजार कर्मचारी अपुग छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले प्रदेशका लागि करिब साढे ८ हजार र स्थानीय तहका लागि १६ हजार कर्मचारी दरबन्दी रिक्त रहेको बताए । उनले स्थानीय तहसँग रिक्त दरबन्दी विवरण माग गरिए पनि प्रदेश वा स्थानीय तहको हकमा पदपूर्तिका लागि लोकसेवा आयोगलाई कुनै पनि पत्राचार नगरिएको जानकारी दिए ।

Do you like this article?