लोकसेवाको परीक्षाः लथालिंग परीक्षास्थल

3 months  ago imagekhabar No Comment

लोकसेवा आयोगले हालै विभिन्न पदका लागि परीक्षा लिएको थियो । तर, आयोगले जहाँ–जहाँ परीक्षास्थल तोक्यो, तीमध्ये केही स्थानको व्यवस्थापन अत्यन्तै लथालिंग थियो । विश्वविद्यालयको पढाइ हुने क्याम्पसहरु पढाइका कारणलेभन्दा त्यहाँभित्रका प्रशासिनक र विद्यार्थी राजनीतिका कारण चर्चामा आउनु नौलो होइन । शैक्षिकस्थल राजनीतिक अखडा बन्दा त्यसको व्यवस्थापन भद्रगोल हुने गरेको तीतो यथार्थ छ । ती क्याम्पसहरुको भद्रगोल व्यवस्थापकीय पक्ष लोकसेवा आयोगको परीक्षमा पनि देखिएको हो ।

परीक्षा दिन पुगेका एक सहभागी भन्छन्, ‘त्यहाँ पुग्दा केन्द्राध्यक्ष नै ‘फलानो कोठा अँध्यारो छ, त्यस कोठाको विद्यार्थीहरु कोठा नम्बर यतिमा जानुस् । तपाइँहरुकै व्यवस्थाको लागि म यहाँ आएको हुँ भन्दै थिए ।’ सन्दर्भ थियो, लोकसेवा आयोगले लिएको राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदपूर्तिका लागि गत शनिबारका दिन द्वितीय र तृतीय पत्रको परीक्षाको । केन्द्र थियो, राजधानीको कोटेश्वरस्थित कोटेश्वर बहुमुखी क्याम्पस । तोकिएको सिटअनुसारको कक्षाकोठा हेर्दै जनाऊ घन्टी बजेपछि परीक्षार्थी कक्षाकोठामा प्रवेश त गरे तर कक्षाकोठामा प्रवेश गरेपछि त्यहाँको अव्यवस्थित कोठाले उत्साह नै मारिदिन्थ्यो । डेक्स–बेन्चका फलेकहरु फाटिएका, प्वाल परेका, सतह नमिलेका, कुनै डेक्समा फलेकनै नभएकासम्म थिए ।

भित्ताहरुमा रङ लगाइएको थिएन । बिजुलीका तारहरु अछरल्ल थिए । होल्डर थियो, चिम थिएन । कोठाको झ्याल–ढोका त नाममात्रका थिए । कोठाको भित्ताहरुमा उच्चारण गर्न नमिल्ले र अपशब्दहरु बढी थियो । केही विद्यार्थी फलेकमाथि सतह मिलेको फलेक राखी लेख्ने तयारीमा थिए । परीक्षार्थीले केन्द्राध्यक्षलाई अर्को कोठामा व्यवस्थापन गर्न आग्रह गर्दा ‘मिलेर लेख्नुस्, यस्तै छ के गर्ने मैले पनि ? लोकसेवालाई बेन्च, कोठा यस्तो रहेछ भनेर जानकारी गराउने हो’ भन्दै पन्छिए ।

पहिलोपत्रको परीक्षा सकाएर बाहिरिएकाहरु लोकसेवाले प्रदान गरेको उत्तरपुस्तिका पनि गुुणस्तरहीन भएकाले अक्षर बिग्रिएको गुनासो गर्दै थिए । बेन्चले गर्दा धोका भयो भन्ने पनि भेटिए । यो गुनासोको सुनुवाइ कसले गर्ला र ? उनीहरुको प्रश्न थियो । उक्त परीक्षा केन्द्र राखिएका क्याम्पसहरुको शौचालयको अवस्था पनि उही नाजुक हालत । युरिनल गुट्खाको खोलले जाम थियो भने पानीको व्यवस्था थिएन । छात्रलाईभन्दा बढी समस्या छात्रालाई थियो ।

विगतमा नेपाल राष्ट्र बैंकको पहिलो चरणको परीक्षामा सामेल हुँदा एकान्तकुनास्थित एक सरकारी विद्यालयको अवस्था पनि यस्तै रहेको एक परीक्षार्थी आफ्नो कटू अनुभव सुनाउँदै थिइन् । धार्मिकस्थलनजिकै रहेको विद्यालय, क्याम्पसमा परीक्षा केन्द्र राख्दा जुनसुकै समयमा गरिने भजनकीर्तनले परीक्षार्थीलाई बाधा पुगेको परीक्षर्थीहरु बताउँदै थिए ।

परीक्षा केन्द्रले आफ्नो पूर्वाधारकाबारेमा लोकसेवालाई स्पस्ट जानकारी नदिनु, लोकसेवाले पनि केन्द्रको अनुगमन नगरी परीक्षा केन्द्र तोक्दा यस्ता समस्या देखिएका थिए । (लोकसेवाले लिएको परीक्षामा सामेल परीक्षार्थीसँगको कुराकानीमा आधारित)

Do you like this article?