SEE

सेनाकै मेडिकल कलेजमा धम्क्याएर असुली

2 weeks  ago Ekantipur No Comment
विद्यार्थी भन्छन्– ‘अतिरिक्त शुल्कबारे बाहिर बोले करिअर धरापमा पारिदिने धम्की दिइयो’

नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान संस्थान (मेडिकल कलेज) ले धम्क्याएर अतिरिक्त शुल्क लिने गरेको गुनासो विद्यार्थीले गरेका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी शुल्क लिएको हो । काठमाडौंको सानोभर्‍याङस्थित कलेजले विद्यार्थीपिच्छे फरक–फरक ‘फी स्ट्रक्चर’ वितरण गरेर बढी शुल्क लिँदै आएको छ । सन् २०१७ ब्याचका विद्यार्थीबाट तोकिएको शुल्कभन्दा ४ लाख ३२ हजार रुपैयाँसम्म बढी रकम असुलेको पाइएको छ ।

सरकार र चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) ले तोकेको शुल्क र किस्ता प्रणालीसमेत उल्लंघन गर्दै कलेजले रकम असुल्ने गरेको एक विद्यार्थीले बताए । ‘बढी शुल्क लिएको विषयमा बोले करिअर (भविष्य) धरापमा पारिदिन्छौं, फेल गरिदिन्छौं भनेर धम्की दिन्छन्,’ ती छात्रले कान्तिपुरसँग भने, ‘जाँचमा फेल गर्ने डरले बोल्न सकेका छैनौं ।’ अतिरिक्त शुल्कका विषयमा निजी मेडिकल कलेजहरूमा आन्दोलन चर्के पनि सेनाको मेडिकल कलेजमा त्रासका कारण विद्यार्थी बोल्न नसकेको उनले जनाए ।

कान्तिपुरलाई प्राप्त उक्त मेडिकल कलेजको छुट्टाछुट्टै ‘फी स्ट्रक्चर’ अनुसार नौ शीर्षकमा अतिरिक्त शुल्क लिने गरिएको छ । ल्याब फीवापत ५ वर्षमा २५ हजार, आवतजावत शुल्क ५० हजार, लाइब्रेरी/आईटी शुल्क ७५ हजार, बाह्य पाठ्यक्रम फी भनेर ४० हजार, मेडिकल कभरेज शीर्षकमा २५ हजार, प्रक्रियागत शुल्क भनेर ५० हजार, मर्मतसम्भार शुल्कबापत ५० हजार र सुरक्षा शुल्क भनेर ३० हजार रुपैयाँ उठाउने गरिएको छ । कलेजले एकमुष्ट शिक्षण शुल्कबाहेक अन्य कुनै पनि शीर्षकमा शुल्क लिन नपाइने मन्त्रिपरिषद्को निर्णय छ ।

कलेजले सन् २०१६ का विद्यार्थीसँग ८ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क लिएको अर्का एक छात्राले गुनासो गरिन् । सन् २०१७ का विद्यार्थीसँग पहिलो वर्ष नै ४ लाख ३२ हजारको दरले अतिरिक्त शुल्क लिएको सेनाको कलेजले सन् २०१८ का विद्यार्थीसँग भने एक लाखमात्रै बढी शुल्क लिएको छ । सरकारले काठमाडौं उपत्यकाभित्र एमबीबीएस पढ्न २०१७ र २०१८ का लागि ३८ लाख ५० हजार शुल्क तोकेको थियो । कलेजले २०१७ ब्याचका विद्यार्थीसँग ४२ लाख ८२ हजार १ सय रुपैयाँ उठाएको थियो । २०१८ ब्याचका विद्यार्थीबाट ३९ लाख ५१ हजार रुपैयाँ लिइएको छ ।

कलेजले शिक्षा मन्त्रालयको निःशुल्क छात्रवृत्ति कोटामा अध्ययनरत विद्यार्थीसँग समेत आन्तरिक परीक्षा, आवतजावत, मेडिकल कभरेज, सम्बन्धन शुल्क लिइरहेको छ । सम्बन्धन शुल्क ३३ हजार ३ सय ९० रुपैयाँ, त्रिभुवन विश्वविद्यालय परीक्षा फी ७ हजार ५ सय, मेडिकल कभरेजका लागि २५ हजार, आन्तरिक र आवतजावत शुल्कबापत ५०/५० हजार शुल्क तोकिएको ‘फी स्ट्रक्चर’ मा उल्लेख छ ।

छात्रवृत्तिमा पढ्ने विद्यार्थीबाट पनि एकमुष्ट २ लाख २ हजार एक सय ९० रुपैयाँ शुल्क लिइएको एक छात्राले बताइन् । ‘बढी पैसा लिएको विषयमा क्याम्पस प्रमुखलाई लिखित जानकारी गराएका छौं,’ उनले भनिन्, ‘अहिलेसम्म कुनै चासो दिइएको छैन ।’ यस्तै भइरहे सरकारको आग्रहअनुसार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने आन्तरिक तयारी गरिएको विद्यार्थीहरूले जनाए ।

कलेजमा शतप्रतिशत शुल्कमा सर्वसाधारण, सेनाका परिवार र विदेशी विद्यार्थी अध्ययनरत छन् । शतप्रतिशतका साथै ८०, ६५ र ५० प्रतिशत छुटमा सेनाका परिवारका विद्यार्थी तथा शिक्षा मन्त्रालयको शतप्रतिशत छात्रवृत्तिमा गरी सात प्रकारका विद्यार्थी पढ्छन् । उनीहरूसँग सातै प्रकारको फी स्ट्रक्चर बनाएर घटीबढी अतिरिक्त शुल्क उठाउने गरिएको विद्यार्थीको गुनासो छ । एउटै शीर्षकमा पनि विद्यार्थीको प्रकारअनुसार कम बढी शुल्क लिने गरिएको छ । उक्त कलेजमा एक सय सिटमा विद्यार्थी एमबीबीएस अध्ययनरत छन् ।

उक्त तहका विद्यार्थीले सरकारले तोकेको शुल्क किस्ता प्रणालीमा बुझाउने व्यवस्था छ । कलेजले उक्त किस्ता प्रणालीसमेत उल्लंघन गरेर पहिल्यै रकम लिने गरेको पाइएको छ । पहिलो किस्ता (भर्ना हुने बेला) मा ५० र त्यसपछि दोस्रो र तेस्रो वर्षको अन्त्यमा २५/२५ प्रतिशत शिक्षण शुल्क बुझाउन भनिएको छ । ‘३८ लाख ५० हजारको ५० प्रतिशत पहिलो किस्ता १९ लाख २५ हजार तिरेर भर्ना भयौं,’ ती छात्रले भने, ‘भर्ना भएको एक साता पूरा नहुँदै ४२ लाख ८२ हजारको फी स्ट्रक्चर देखाएर थप रकम मागियो ।’

सम्पत्ति शुद्धीकरण टोली नोबेलमा
विराटनगर । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नोबेल मेडिकल कलेजका पदाधिकारीको तीनपुस्ते विवरण लिएको छ । एमबीबीएस र बीडीएसलगायतका विद्यार्थीबाट सरकारले तोकेभन्दा धेरै अतिरिक्त शुल्क लिएको आरोप लागेकै बेला विभागका तीन सदस्यले आइतबार र सोमबार कलेजका सञ्चालक, उच्च तहका कर्मचारीको विवरण र परिवारको नामावलीसहित हालसम्म भर्ना भएका सबै कार्यक्रमका विद्यार्थी संख्या, शुल्कसम्बन्धी विद्यार्थी र अभिभावक तथा अन्यसँग भएका सम्झौताको प्रतिलिपि लिएका छन् ।

कलेजको लेखापरीक्षण प्रतिवेदन, कलेजको आर्थिक प्रशासन सञ्चालनसम्बन्धी कानुनको प्रमाणित प्रतिलिपि पनि टोलीले लगेको सञ्चालक सुनिल शर्माले बताए । त्यसैगरी चिकित्साशास्त्र विभिन्न विधामा भर्ना भएका विद्यार्थी र परीक्षाको पाँच वर्षको विवरण, कलेजका निर्णयहरू, सम्पत्ति विवरण र अध्ययनरत तथा गएका विद्यार्थीका नामावली र शुल्कको विवरण पनि विभागको टोलीलाई उपलब्ध गराइएको शर्माले बताए । कलेज सञ्चालक शर्मा, पत्नी इन्दिरा बराल शर्मा, बाबु लोकनाथ न्यौपाने, आमा हुमादेवी, छोरा इशान, छोरी स्वयन, लेखा प्रमुख अमिर न्यौपाने, प्रशासन प्रमुख दीपेश राई, प्रबन्धक नारायण दाहाल र प्राध्यापक डिल्लीराम निरौलाको तीनपुस्ते विवरण टोलीले लगेको छ ।

नोबेल मेडिकल कलेजले तीन वर्षमा ३५ करोड ४७ लाख ४४ हजार १ सय १८ रुपैयाँ विद्यार्थीबाट अतिरिक्त लिएको केन्द्रको ठहर छ । त्यसैगरी सन् २०१८ मा मात्र यो कलेजले प्रतिविद्यार्थी भर्नामा ७ लाख ४५ हजार रुपैयाँ अतिरिक्त उठाएको र अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार ७ सय ३२ रुपैयाँ असुली गरेको र सन् २०१८ मा मात्र कलेजले ५० पेइङ विद्यार्थीबाट १२ करोड ७० लाख २६ हजार रुपैयाँ बढी उठाएको केन्द्रको प्रतिवेदन छ ।

Do you like this article?


Like us on Facebook